नदी किनारका सुकुम्बासीलाई सुन्दरीघाटमा राखिने दुई निकायबीच जस लिने होडले सुकुम्बासी मर्कामा

 गएको बैशाख २६ गते डोजरले घरटहरा भत्काएपछि राजधानी थापाथलीको बाग्मती नदी किनारमा बस्दै आएकामध्ये ५८ घरपरिवार अझै त्यहीं अलपत्र अवस्थामा छन् । डोजर चलाउनुअघि त्यहाँ २ सय ५२ घरटहरा थिए । डोजरले वस्ती भत्काएपछि सबैको भागाभाग भयो । अलिअलि कमाई भएका र भाडा तिरेर बस्न सक्नेहरु झिटीगुन्टा बोकेर हिंडे । साँच्चिकै सुकुम्बासीको चाहिं बिजोग भयो ।
पहिले २ सय ५२ घर परिवारमध्ये अहिले ५८ घरपरिवार मात्र थापाथलीको बागमती किनारमा छन् । बस्ने घर उजाड भएपछि उनीहरु पाल टाँगेर बसेका छन् । वषर्ाको बेला नदी किनारको चौर हिलो र पानीले ओभानो छैन । नदीमा कुनबेला बाढी आउँछ भर छैन । एकसरो पालले राम्ररी ओत ढाक्न सकेको छैन । यस्तै बिजोक सहँदै उनीहरु जसोतसो गुजारा गर्दै आएका छन् ।
यसबीचमा सरकारले अस्थायी रुपमा चोभारमा सार्ने योजना पनि बनायो । तर त्यहाँका बासिन्दाले बिरोध गरे । अहिले सरकारले इचंगुनारायणमा स्थायी घर बनाउने तयारी गरेको छ । त्यहाँ घर नबन्दासम्म हटाइएका सुकुम्बासीलाई ललितपुरको सुन्दरीघाटमा राख्ने गरी अहिले काम भैरहेको छ ।
सरकारले बुधबारदेखि रानीघाटमा अस्थायी टहरा बनाउन शुरु गरेको छ । तर त्यहाँ पनि स्थानीयबासिन्दाले बिरोध गरेका छन् । यसअघि आफूहरुको जग्गा अधिग्रहण गरेको सरकारले आफूहरुलाई सुकुम्बासी बनाएर अरु सुकुम्बासीलाई ल्याएर राख्न खोजेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । स्थानीयबासिन्दाले बुधबार त्यस क्षेत्रमा बिरोध प्रदर्शन पनि गरे । तर प्रहरीले बल प्रयोग गरेर त्यहाँ टहरा बनाउने काम शुरु भएको छ । एकहप्तापछि टहरा बनिसक्ने र त्यसपछि सुकुम्बासीलाई राख्ने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । त्यहाँ अस्थायी रुपमा मात्रै राख्ने भएकाले बिरोध नगर्न सरकारले स्थानीयबासिन्दासित आग्रह गरेको छ ।
जस लिने होड
शहरी विकास तथा भवन निर्माण विभाग र बागमती सभ्यता एकीकृत आयोजनाको सकृयतामा बैशाख अन्तिम हप्ता थापाथली किनारबाट सुकुम्बासीलाई हटाउने काम भयो । त्यही बेला काठमाडौं विकास प्राधिकरणको आयुक्त केशव स्थापितले यसको बिरोध गरे । सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरीकन हटाउन नहुने उनको भनाई थियो । अब हटाईसकेपछि उनीहरुलाई चोभार राख्ने भनेर उनले नै भने । विभाग र आयोजनाले निश्चित रकम दिएर सुकुम्बासीलाई पठाउने योजना बनाएको थियो । तर स्थापितले अस्थायी रुपमा राख्ने भनेर सार्वजनिक गरेपछि सुकुम्बासी बिरोधी हुन नहुने भएकाले विभाग र आयोजनाले पनि समर्थन जनाए । तर स्थानीयबासिन्दाको बिरोधका कारण चोभारमा सार्ने काम हुन सकेन ।
स्थापितको योजना अनुसार काम हुन नसकेपछि अहिले विभाग र आयोजनाले रानीघाटमा सार्ने काम गर्दैछन् । तर त्यहाँ पनि योजना अनुसार काम हुने नहुने ठेगान छैन । केही गैरसरकारी संघसंस्था पनि सुकुम्बासीको लागि काम गर्ने योजना बनाउँदैछन् । तर ती निकायबीच आपसी समन्वय चाहिं हुन सकेको छैन । जस लिने होडले वास्तविक सुकुम्बासी चाहिं अलपत्र परेका छन् ।
Share on :

0 comments:

 
© Copyright Koshi Darpan 2011 - All rights reserved | Design By: Surendra Uperkoti.