फेसबुकमा घोषणा गरेरै जापानमा नेपालीद्धारा आत्महत्या


२१ असार, टोक्यो । संसारकै सवैभन्दा धेरै आत्महत्या हुने मुलुकका रुपमा चिनिने जापानमा पछिल्लो दिनमा नेपालीहरुले पनि आत्महत्या गर्नेक्रम बढेको छ ।
बिहीवार बिहान मात्रै जापानको साइतामा केनमामा एक नेपालीले आत्महत्या गरेका छन् । कुक भिसामा जापान आएर स्थायी बसोबासको अनुमति पाइसकेका बाग्लुङ मल्म ७, गल्कोटका ३४ बषिर्य विष्णु साहनीले आज बहिान आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्दा साहनीले अनौठो तरिका अपनाएका छन् । उनले बिहान ३ बजेतिर ‘यो मेरो अन्तिम फोटो हो’ भन्दै फेसबुकमा तस्वीर अपलोड गरेका थिए । बिहान फेसबुक स्टाटस देखेपछि साथीहरुले सोधी खोजी गरेका थिए । बिहान ९ बजे बिष्णुकी श्रीमतीले उनलाई बाथरुममा मृत अबस्थामा फेला परेको बताइएको छ ।
साहनीकी श्रीमती सँगै बस्दै आएकी थिइन् । बाथरुपममा उनैले पहिलोपटक बिष्णुको शव देखेकी थिइन् । उनकी ६ बषिर्य छोरी नेपालमै रहेको पारिवारिक स्रोतले जनाएको छ । सन् २००० मा जापान प्रवेश गरेका बिष्णु कुक भिषामा जापानको ओशाकामा काम गर्दै आएका थिए । उनी ६ महिना अघिमात्र साइतामा केनमा बसाई सरेका थिए । प्रहरीले घटनाको आवश्यक जानकारी लिइरहेको छ । के कारणले उनले आत्महत्या गर्न पुगे भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन् ।
अहिले साइतमाकेनको हिगासी तोक्रोजावा प्रहरीले शब जिम्मा लिएको जापानबाट सञ्चालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपालले जनाएको छ । उनको दाहसँस्कर नेपालमै गरिने भएकोले मृतकको शवलाई नेपाल पठाउने तयारी भैरहेको नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापाले जानकारी दिनुभयो । पछिल्लो दिनमा नेपालीहरुले जापानमा आत्महत्या गर्ने क्रम बढेको छ । एक साता अघिमात्र अर्घाखांचीकी अमृता थापाले बाथरुममै पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
किन बढिरहेछ आत्महत्या ?
सामान्यता एक बर्ष अघिसम्म जापानमा नेपालीहरुको मृत्यु र आत्महत्याका खवर सुन्न पाइदैनथियो । तर पछिल्ला दुई घटनामा लाउँला खाउँला भन्ने उमेरका नेपालीहरुले आफ्नै खुसीमा जीवन त्यागे ।
गैरआवासीय नेपाली संघ जापानका महासचिव डा. राजेन्द्रप्रसाद पराजुली नेपालीहरुको आत्महत्या बढ्नुमा आफैं, पारिवारिक र सामाजिक अपेक्षा पुरा गर्न नसक्दा बढेको दवाव नै प्रमुख रहेको ठान्नुहुन्छ ।
धेरैजसो मानिस जापान जाँदैमा टन्न पैसा कमाइन्छ र जीवन सुखमय हुन्छ भन्ने सोंच्छन् । तर उनीहरुको अपेक्षा बिपरित जापानमा काम पाउन निकै गाह्रो छ, चर्को खर्चका बिचमा कमाएको सीमित पैसा बच्न सक्दैन् । धेरै कमाउने आफ्नै महत्वकांक्षा, परिवारको अपेक्षा पुरा गर्न नसक्दा नेपालीहरुलाई आफुलाई आत्महत्यामा बाटोमा लगेको हुनसक्ने पराजुली बताउनुहुन्छ । यसबाहेक बिश्वमै बढि आत्महत्या गर्ने मुलुकको सूचीमा पर्ने जापानको समाज पनि त्यसका लागि जिम्मेवार रहेको उहांको ठम्माई छ ।
जापान आफैंमा बिश्वमा सवैभन्दा बढि आत्महत्या गर्ने मुलुक हो । पछिल्ला दुई बर्षको तथ्याङ्कमा हेर्दा औसतमा मासिक दुई देखि तीन हजार जापानी नागरिकहरुले आत्महत्या गरेका छन् । जापानमा नेपालीहरुको बढ्दो संख्या र सामाजिक संजालहरुको प्रभावले पनि नेपालीहरुमा आत्महत्याको क्रम बढेको हुनसक्ने पराजुलीको बुझाई छ ।
एनआरएन जापानका अध्यक्ष ओम गुरुङ पनि सोंचेअनुसार सफलता हात पार्न नसक्नुको पीडाकै कारण आत्महत्या बढेको हुनसक्ने बताउनुहुन्छ । यहाँको दैनिक जीवनको रफ्तारमा अस्तब्यस्त पारिवारिक जीवन, बोझ र असमझदारीका कारणले पनि यस्ता दुखद घटना भएको हुनसक्ने गुरुङको बुझाई छ ।
Share on :

0 comments:

 
© Copyright Koshi Darpan 2011 - All rights reserved | Design By: Surendra Uperkoti.